आफ्नो फिल्म हेरेर आफैं रोमाञ्चित भएँ- कृष्ण मल्ल

उनीसँग संघर्षको ठूलो कथा छैन। परिवारका एक्ला र खानदानी परिवारमा जन्मिएका कृष्ण मल्लको अगाडि मौका फूलसरी नै बिच्छाइए भन्दा फरक पर्दैन। बरू संघर्ष गर्ने अभाव र प्रभाव नभएका साथीहरूलाई यो क्षेत्रमा टिक्न ठूलो मद्दत उनले गरेका छन्। भोको पेट, अभाव थिचाइले कहिल्यै नपिरोलेका यी अभिनेताभित्र रहेको अभिनय कलाले सही समयमा सही व्यक्तिका अगाडि उनको कलाकारिताको बाटो सहज भयो। यस अर्थमा उनी भाग्यमानी हुन् र यस्तो उनी आफैं ठान्छन् पनि।

‘परिवारको एक्लो छोरो हुँ। बुबा राजनीति र ठेक्कापट्टामा हुनुहुन्थ्यो। मलाई निदाउनका लागि सानोमा बुबाको काख नै चाहिन्थ्यो’, अभिनेता, निर्माता, निर्देशक कृष्ण मल्लले आफ्नो बाल्यकाल सम्झिए।

देश दुनियाँ देखेका बाबुले उनलाई सानोमा पढाउन काठमाडौं ल्याए तर ४-५ महिना आनन्दकुटीमा पढेका कृष्णलाई काठमाडौंमा बस्न मन लागेन। बाबुले सिन्धुपाल्चोक नै फर्काए। बाँकी स्कूले जीवन उतै बित्यो।

***

२८ सालमा उनी एसएलसी दिन काठमाडौं आए। उनीसँग त्यस्तो ठूलो सपना र उद्धेश्य थिएन। आईए पास गरेर जब उनी त्रिचन्द्रमा बिए पढ्न थाले उनको जीवनले बेग्लै बाटो उनका लागि खोलिदियो।

कलेजको वार्षिकोत्सवमा उनले ‘भोलि के हुन्छ?’ भन्ने नाटकमा अभिनय गर्ने मौका पाए। यतिबेलासम्म उनलाई यो सोख थियो। भोलि कलेजपछि यसैमा लाग्छु भन्ने कुने सोच थिएन। विद्यार्थीनै भएकाले होला उनी पढ्न र विद्यार्थी राजनीतिमा सक्रिय थिए। साथीभाइले उनको अभिनयको तारिफ गरे। उनमा एउटा उत्साह आयो। उनले नाटकमा आफूलाई ढल्काउन थाले।

त्यतिबेला गोदावरी एल्मुनाइले ‘इन्टरकलेज नाटक फेटिभल’ गर्थ्यो। ‘मरूभूमिको लेखक’ शीर्षकको नाटकमा उनले सहभागी नाटकका अभिनेताभन्दा उत्कृष्ट अभिनय गरे। उनले त्यसमा बेस्ट एक्टरको उपाधि जीते। त्यो पाएपछि उनलाई के चाहियो? अभिनय गर्न सक्छु भन्ने आत्मविश्वास बढ्न थाल्यो।

त्यसपछि उनी एमएको पढ्न थाले।

‘मेरो अभिनयलाई तत्कालिन एकेडेमीमा सदस्य सचिव सत्यमोहन जोशीले याद गर्नुभएको रहेछ। उहाँ निर्णायक सदस्य हुनुहुन्थ्यो, त्यो प्रतियोगितामा। उहाँले मलाई एकेडेमीले मञ्चन गर्न लागेको ‘जब घाम लाग्छ’ भन्ने नाटकमा काम गर्न बोलाउनुभयो’, उनले भने, ‘दैनिक ज्यालादारीमा नाटक गरियो। त्यो नाटकले मेरो युनिभर्सिटीमा भर्खरै सुरू भएको मास्टर्सको पढाइलाई रोकिदियो। म नाटकतीर मोडिए। मैले पढ्न छोडेँ।’

त्यो नाटकपछि उनी राष्ट्रिय नाचघरमा आए। उनले विजय मल्ल लिखित ‘पहाड चिच्याइरहेछ’ भन्ने नाटकलाई राष्ट्रिय नाटक महोत्सवमा निर्देशकका रूपमा सहभागी भए। निर्देशनतर्फको गोल्ड मेडटरमा उनले कब्जा जमाए। उनी कुशल रंगकर्मीमा दरिन पुगे। यतिबेलासम्म राष्ट्रिय नाचघरमा काम गरेको २-३ वर्ष बितिसकेको थियो। नाटकको सिलसिलामा उनको चिनापर्ची नीर शाहसँग भइसकेको थियो। उनीहरूले २०३७ सालमा ‘श्री समूह’ नामक नाटक समूहको गठन गरे। नीर अध्यक्ष बने भने कृष्ण महासचिव।

श्री समूहले त्यतिबेलामा भारतीय लेखकले लेखेको एक भारतीय नाटकको नाट्य रूपान्तरले त्यतिबेला झण्डै आजकलका नेपाली फिल्मले कमाउने सरी पैसा कमाएको कृष्ण सम्झन्छन्। नाटकको नेपाली नाम ‘बनिदिनोस न त’ थियो।

नीरले कृष्णको आधा दर्जन नाटक हेरेका थिए। उनी कृष्णको अभिनय कलाबाट प्रभावित थिए। उनको क्षमताबाट प्रभावित भएका नीरले कृष्णसँग टिमअप गरेर समूह सुरू गरे। नीरको नजरमा कृष्ण त्यस्ता अभिनेता हुन् जो एकपटक चरित्रमा घुसेपछि बेजोड प्रस्तुति दिने क्षमता राख्छन्।

कृष्णमा लेखन, निर्देशन क्षमता पनि त्यस्तै भएको नीर बताउँछन्। त्यस्तै नीरका अनुसार कृष्ण एउटा सशक्त कलाकार भए पनि नेपाली कलाकारितामा हुनुपर्ने जति गम्भिर नभएकोले गर्न सक्ने जति गर्न नसकेको गुनासो गर्छन्।

‘वासुदेव’ मा हिरो

यस्तैमा नीर शाह शाही नेपालि चलचित्र संस्थानको डिसीएम नियूक्त भए। संस्थानले त्यतिबेला सरकारी पैसामा फिल्म बनाउँथ्यो। नीरले संस्थानबाट बनिरहेको ‘बदलिदो आकाश’मा कृष्णलाई एउटा सानो भूमिका लागि आग्रह गरे। तर उनले त्यो फिल्म कुनै कारणले गर्न मानेनन्।

यस्तैमा नीर शाह आफैंले फिल्म बनाउने भए। आफ्नो नाटक समूहलाई फिल्म गर्नुपर्छ भनिरहेका थिए। समूह उनलाई सघाउन तयार थियो।

फिल्मको तयारीका बिचनै नीरले कृष्णलाई ‘ल मल्लजी फिल्म त गर्नुपर्‍यो नि नायकको रूपमा।’ कृष्णलाई सपना लागिरहेको थियो। हिरो बन्ने भनेर सुनेको रात उनलाई निद्रै परेन।’

निद्रा परोस पनि कसरी त्यतिबेलामा कम नेपाली फिल्म बन्थे। यस्तोमा उनलाई नीरले हिरोको रूपमा फिल्म खेल्न भनेपछि निद्रा कसरी लाग्थ्यो र? फिल्मको नाम ‘वासुदेव’ थियो। फिल्म धुर्वचन्द्र गौतमको उपन्यास ‘कट्टेलसरको चोटपटक’ उपन्यासमा आधारित थियो। त्यतिबेला फिल्मको स्क्रिप्ट मुम्बईका एक लेखकसँग लेखाइमाग्नुपर्थ्यो। नीर नेपाली लेखकबाट लेखाउनुपर्छ भन्ने सोचमा रहेकाले सो कृतिलाई फिल्म बनाउन लागिरहेका थिए।

कृष्ण भन्छन्, ‘त्यो बेलामा हिरो हुनु एउटा ठूलो कुरा थियो। फिल्ममा काम गर्नु नै ठूलो उपलब्धि हुने बेलामा फिल्मको हिरो हुन पाउन धेरै ठूलो कुरा थियो। भूमिका के हो कस्तो हो भन्नेतीर लागिएन। म ट्याक्सी ड्राईभर भूमिकामा रहेछु भनेर पछि थाहा पाएँ।’

हिरो हुने भएपछि दंग परेका कृष्णले त्योसँगै आफूलाई परेको एउटा फसाद पनि सुनाउँछन्, ‘मलाई गाडी चलाउन आउँदैनथ्यो। तर निर्माण नियन्त्रक गेहेन्द्र धिमालले गाडी चलाउन सिकाउनुभयो। पूरा नजानी नै फिल्मको सुटिङ सुरू भयो। गाडी पूरा नसिकेको नतिजा सुटिङका कारण गाडी झण्डै दुर्घटना परिएन।’

उनले सो क्षणको सम्झना गरे। फिल्ममा शर्मिला गाडी कुरिहरहेकी हुन्छिन्। उनी बाल मन्दिरतीतरबाट आइरहेका हुन्छन्। गाडी रोक्छन् पनि तर शर्मिलालाई गाडीमा हालेर गणेशस्थानतीर लाने सिन थियो। उनले गाडी रोके तर उनले गाडीको चक्का मोडिएको ख्याल गरेनन्। त्यतिकै गाडी चलाउँदा सिधा जाने गाडी बाङगियो, उनी पनि अतालिए।। गाडी अनियन्तरित भयो। गाडी लिरिङ लिरिङ भएपछि क्यामरा लिएर प्रेम उपाध्यायहरूको भागाभाग भयो। उनीहरूले भागेर ज्यान जोगाए। पछि उनले जसोतसो गाडी रोके।

फिल्म रिलिज भएपछि उनलाई रमाइलो भयो।

‘म आफ्नो फिल्म हेरेर आफैं रोमाञ्चित भएँ। फिल्मबाट प्रशंसा पाएँ। कस्तोसम्म भयो भने त्यसको ह्याङओभर नै १-२ वर्ष होला जस्तो भो’, उनले फिल्म रिलिजपछिको किस्सा सुनाए।

त्यसो त उनले सो फिल्म पनि बिचैमा छाडेका थिए।

‘पहिलो फिल्ममा नीर शाहजीसँग झगडा पर्यो। गीतको सुटिङ थियो। गीतमा क्यापको कन्टिउनिटी थियो। मैले ड्रेसम्यानलाई दिएको थिएँ। ड्रेसम्यानले बिर्सेछ। नीरजीले कलाकार भएर एउटा क्याप पनि नबोक्ने भनेर गाली गर्नुभयो। युवा उमेर थियो, मलाई रिस उठ्यो। म यस्ता फिल्म सिल्म खेल्दिनँ भनेर रिसाएँ र सेटबाटै हिँडेँ। जाँदाजाँदै रिसले मैले नीर शाहलाई ढुंगालेसमेत हाने। संयोगले लागेन। सुटिङ प्याकअप भयो। ३ बजेतीर नीर शाहले अन्नपुर्ण होटलको कफी सपमा बोलाउनुभयो। उहाँले मल्लजीको प्रेस हाइ छ कि के हो भन्नु भयो, जवाफमा मैले मेरोचाँहि होइन तपाईँको चाँहि छ होला भने। कुरा मिल्यो। सुटिङ सुरू भयो।’

यस्तो भए पनि नीर शाहसँग उनको निकटता कहिल्यै घटेन।

त्यसपछि २०४१ सालमा नेपाल टेलिभिजन सुरू हुने भएपछि उनी नीर शाहसँगै टिभीमा आए। ४२ सालमा युएचएफ ब्याण्डबाट सुरू भयो। टिभीको तालिम लिए। टेलिभिजन प्रोडक्सनमा काम गर्न पाए। टेलिफिल्म बनाए। यो सँगै उनलाई विस्तारै फिल्मको अफर हुन थाल्यो।

‘जागिर खाँदै फिल्म गर्न सकिने अवस्था रहेन। अनि मैले टेलिभिजन छाँडेँ। ‘मायाप्रीति’ फिल्ममा म अडिसनबाट छनोट भएको थिएँ।’

उनले नेपाल टेलिभिजनका लागि पहिलो टिभी श्रृखंला ‘श्री पाँच पृथ्वी नारायण शाह’ बनाउने सौभाग्य पाए। भर्खर टेलिभिजन युगमा प्रवेश गरेको नेपाल टेलिभिजनका लागि उनले ‘चक्रब्यूह’, ‘टाढाको बस्ती’, ‘मार्शल’ आदि सिरियल बनाए। ती सबैले दर्शकको मन जित्यो। उनले थुप्रै सर्ट भूमि पनि बनाए।

उनी स्वभावले कसैको तल बसेर काम गर्ने स्वभावका होइनन्। उनी स्वतन्त्र रहेर काम गर्न रूचाउँछन्। उनी कहिल्यै पैसाको पछाडि दौडिएनन्। उनी आफू भित्र काम गर्ने उत्साह बाहेकको अर्को कुनै कुरा नआएको सम्झना गर्छन्।

‘मलाई जागिरको त्यति लोभ मोह भएन। जागिरबाट घर चलाउनुपर्ने थिएन। जागिर त मैले नेपाल टेलिभिज अगाडि ३६ सालमै अस्थायी शाखा आधिकृतको खाएको थिएँ, राष्ट्रिय पञ्चायतमा ३ महिना। कोशिस गरेको भए अर्के हुन्थेँ होला।’

‘मायाप्रीति’ पछि विस्तारै उनी फिल्मलाईनमा भिज्न थाले। उनी ३ जना व्यक्तिलाई कहिल्यै भूल्न सक्दैनन्। एक नीर शाह थिए, अर्का फिल्म निर्देशक बिएस थापा अनि नाटकमा अभिनय सिकाउने गुरू हरिप्रसाद रिमाल। रिमालले नै कृष्णलाई रेडियो नेपालका रूपक नाटकमा अभिनय गर्ने मौका दिएका थिए।

‘मायाप्रीति’ मा बिएस थापासँग काम गर्दा उनलाई बेग्लै अनुभव भयो। ‘कान्छी’ , ‘माइतिघर’ जस्तो फिल्म बनाएको मान्छेसँग छुट्टै वातावरणमा उनले काम गरे। थापाले हिरोहिरोइनलाई बेग्लै बलिउडको जस्तै व्यवहार स्ट्यान्डर्ण दिनुभयो। त्यही लहरमा उनले ‘कोसेली’, ‘विजय पराजय’मा त्यही लहरमा अभिमनय गरे।

***

फिल्ममा लाग्यो भनेर घरबाट केही कसैको बन्देज कहिल्यै थिएन। पारिवारिक परिस्थिति उनको पक्षमा थियो। परिवारले कहिल्यै उनले समाएको बाटोको विरोध पनि गरेन।

‘बुबालाई मैले गरेको काममा त्यति मतलब थिएन। तर बाबु खुशी भएको एउटा क्षण मलाई थाहा छ। राजा विरेन्द्र र रानी ऐश्वर्य सिन्धुपाल्चोकको एउटा मन्दिर दर्शनमा जानुभएको रहेछ। त्यसको आयोजक कमिटीमा बुबा प्रमुख हुनुहुन्थ्यो। कसैले हिरो कृष्ण मल्लको बुबा भनेर माहारानीलाई सुनाइदिएछ। रानीले बुबालाई बोलाएर तपाईँ हिरो कृष्ण मल्लको बुबा हो? भनेर हालखबर सोधनी भएछ। रानीबाट छोराको बारेमा सुनेपछि बुबा औधि खुशी हुनुभएको थियो। छोराको नामबाट चिनिएकोमा उहाँलाई ठूलो गर्व भयो। त्योबेला बडामहारानीबाट त्यो सोधिनु ठूला कुरा थियो। त्यो उहाँका लागि गर्व गर्ने कुरा भएको थियो।’

घरबाट कुनै अब्जेक्सन न भए पनि फिल्ममा नआएको भए कृष्ण मल्ल प्रहरीमा हुन्थे होलान्। ३३-३४ सालतीर हुनुपर्छ। उनी इन्सपेक्टरमा भिडेका थिए। फाइनलमा उनको नाम निक्लेन। लिखितबाटै फालिए। अखिलको राजनीतिमा लागेका कारण उनको नाम निस्किएन। उनी त्यतीबेलाको झापाली कम्नियूस्ट समूहमा थिए। उनीसँगै प्रहरी बन्न आवेदन दिएका सहपाठी शरदसिंह भण्डारी माथि पनि पेस्तोल काण्ड थियो। दुई जनाबाहेक सबैको त्यतिबेला नाम निस्कियो। विद्यार्थी राजनीतिका कारण उनी ६ पटक जेल समेत पुगेका छन्।

जीवनलाई कृष्णले कहिल्यै जटिल बनाएनन्। उनी साथी भाइका बिचमा रमाइला मान्छेका रूपमा चिनिन्छन्। उनले रामचन्द्र अधिकारी, अशोक शर्मा अधिकारी, सुरविर पण्डित आदि नयाँ प्रतिभालाई नेपाली कलाकारितामा भित्र्याएर ठूल गुन लगाएका छन्। फिल्ममा उज्वल घिमिरे जस्ता निर्देशक भित्र्याउने जस पनि उनैलाई जान्छ।

हिरोको रूपमा उनी अन्तिमपटक ‘बादल’ मा अभिनय गरे। उनी फिल्म निर्माताका रूपमा पनि आए। उनले ‘गोठालो’, ‘लगनगाँठो’ जस्ता फिल्म निर्माण गरेका छन्।

पोस्ट हिरोको लाइफ

‘मैले कहिल्यै आफूलाई हिरोकै रूपमा प्रस्तुत गरिनँ र ठानिनँ। त्यो किसिमको लाइफस्टाइलमा म गइनँ। काम गर्नमा पाएको आनन्दलाई नै मैले सर्वोपरी ठानेँ। म आफूलाई साधारण मान्छे सोच्थे’, उनी आफैंलाई यसरी मूल्याकंन गर्छन्।

कलाकार भएर पाएको कुरा पहिचान हो। उनलाई त्यसमै खुसी लाग्यो। कुनै व्यक्तिगत काममा जाँदा ‘ओहो तपाईँ आफैं आउनुभयो?’ भनेर सम्मान पाउँछन्। उनलाई यसैमा खुसी मिल्छ।

‘त्यही नै हो। मैले केही साथीभाइलाई यो क्षेत्रमा ल्याउन सकेँ, केही गर्न सकेँ। त्यो नै मलाई पर्याप्त भयो’, उनले सेतोपाटीसँगको कुराकानीमा भने।

आजकल उनको समय टेलिभिजन एडहरू बनाउँछन्। त्यसबाहेक समाजसेवामा रूची छ। त्यो गर्छन्। त्यसैमा बिजी भएकाले कतिपय साथीभाइले ल खेलौ भन्दा फिल्म गर्न भ्याइरहेको पनि छैनन्।

‘राम्रो रोल पाए भने समय दिन सक्छु, गत वर्ष ‘गाजलु’ खेले। त्यो फिल्म मैले नयाँ पुस्ताले कसरी काम गर्छ भन्ने कौतुहलताले गर्दा खेलेँ। नयाँ पुस्ताको स्पिड मलाई मन पर्‍यो। अझै काम गर्ने रहर छ। फिल्म बनाउने सोच पनि छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *