म आफैंलाई भनिरहन्छु- इरफान, यो झुठो पहिचानलाई विश्वास नगर!

इरफान खान बलिउडका थोरै कलाकारमध्ये पर्छन्, जसको अभिनयले हलिउडमा पनि प्रभाव छोडेको छ। फरक धारका फिल्महरूले उनको सफलताबारे बोल्छन्। त्यति मात्र हैन, उनी भर्खरै ‘टोक्यो ट्रायल्स’ नामको जापानी टिभी सिरिजमा पनि काम गरिरहेका छन्।

उनको करियरको बाटो हेर्ने हो भने धेरै कलाकारका लागि डाहलाग्दो छ। बलिउडले भन्ने वा चिन्ने गरेको परम्परागत ‘हिरो’ को श्रेणीमा उनी पर्दैनन्। उनका फिल्महरू अर्बौं कमाउने गरी हिट पनि हुँदैनन्। तर दुई दशक लामो करियरमा अभिनयको दमले उनले जुन विश्वासनियता कमाएका छन्, त्यसलाई सामान्य मान्न सकिँदैन।

यो अन्तर्वार्तामा उनले अभिनयको प्रक्रिया, फिल्म छान्नुका कारणबारे बोलेका छन्। साथै पश्चिमा फिल्म उद्योगमा पाएको सफलताका बारेमा धेरै कुरा गर्न किन चाहँदैनन् भन्ने बारेमा स्पष्ट पारेका छन्। ‘हफिङटन पोस्ट’का लागि अंकुर पाठकले लिएको यो अन्तर्वार्ता सुरज सुवेदीले नेपालीमा अनुवाद गरेका हुन्।

तपाईंको पछिल्लो फिल्म ‘हिन्दी मिडियम’ सामाजिक रूपमा धेरै उपयुक्त थियो र सामाजिक कथालाई सामान्य रूपमा गरिएको प्रस्तुति दर्शकले मन पराए। ‘कमेडी’ सँग तपाईं कत्तिको सहज हुनुहुन्छ?

कथा भन्ने धेरै तरिका र सम्भावनाहरू हुन्छन् तर प्राथमिक रूपमा यसले मनोरञ्जन दिनुपर्छ। त्यसैले पनि दर्शकले फिल्म हेर्न पैसा खर्च गर्छन्। मनोरञ्जनको पाटोलाई हेर्नैपर्छ तर त्यसबाहेक अरू कुनै ‘लेयर’ नभएका फिल्महरू भने मलाई बोरिङ लाग्छन्। कथा भन्ने धेरै माध्यमहरूमा कमेडी पनि एक हो। यो प्रभावकारी पनि हुन्छ। तर फिल्मबाट दर्शकले के सन्देश लिन सक्छन् भन्ने मुख्य कुरा हो।

तपाईंले गरेका फिल्महरूमा रमाइलो विविधता छ। जाजवा, तलवार, एक्सपोज, हैदर, थ्यांक यु सबै। यस्ता फिल्म गर्दै गर्दा तपाईं सामान्य महसुस गर्नुहुन्छ कि ‘सरप्राइज्ड’ हुनुहुन्छ?

यो धेरैवटा पक्षहरू मिलेर बन्ने कुरा हो। परिपवर्तनलाई आत्मसाथ गर्नु पहिलो कुरा। कहिलेकाहीँ गरौँ न त भनेर गरिन्छ। कहिलेकाहीँ पैसाका लागि। कहिलेकाहीँ फरक महसुस गर्न पनि गरिन्छ। तर अहिलेचाहिँ म पैसाको पछि भन्दा पनि अल्छिलाग्दो तर काम गर्न मजा आउने फिल्म खोज्ने अवस्थातिर जान मन गरिरहेको छु।

त्यस्तो कुनै समय आयो, जतिबेला तपाईंले आर्थिक रूपमा सबल हुन मात्र फिल्म खेल्नुभयो?

थियो। तर अहिले मैले बुझिसकेँ कि कमाएको ३० प्रतिशत सरकारले लैजान्छ र बाँकी सबै कतै विस्तारै सकिन्छ। मलाई धेरै पैसा आउने विज्ञापनका अफर आए। नाइँ भन्न गाह्रो भयो। त्यसपछि मैले आफूलाई त्यो प्रोडक्टको पोष्टरमा सारा सहरमा आफूलाई छापिएको कल्पना गरेँ। केही उत्पादनहरू हुन्छन्, जससँग आफ्नो नाम र अनुहार जोडिएको मन पर्दैन। त्यस्तालाई म छोडिदिन्छु। बरु त्यो समयमा आफ्नो बारेमा राम्रो सोच्न तथा आफैंलाई मन पराउन आनन्द लाग्छ।

तर त्यो पनि फिल्मको लागि सत्य हुन सक्छ हैन? तपाईंले भनेको सकेसम्म त्यसबाट भाग्न खोज्छु भन्ने कुरा त मानौंला तर एक कलाकारले ‘पब्लिक डोमेन’मा भएका चिजहरू जस्तै- ‘पान मसलाको विज्ञापन’ गरेर आफूलाई सार्वजनिक रूपमा उपहास गराउँछन् नि हैन?

(हाँसो) हो त्यसो गर्दा उपहास हुने वा अपमान दुवै हुनसक्छ। म धेरै लजालु मानिस थिएँ र कुनै समय आफ्नो आत्मसम्मानमा धेरै नै ध्यान दिन्थेँ। तर त्यो समय हराइसक्यो। एक व्यक्ति के-के हुँदै गुज्रिनु पर्छ भन्ने कुराको सिकाइ पनि थियो यो। त्यो प्रक्रियाबाट भाग्न पनि सकिँदैन। आफ्नो अव्यवस्थित अवस्था कतिन्जेलसम्म रहन्छ भन्ने कुरा पनि थाहा हुँदैन।

तर जब कामभन्दा बाहिर गइन्छ र हेरिन्छ तब सँगैका साथीहरू अगाडस पुगिसकेको थाहा हुन्छ। उनीहरूलाई मानिसहरूले पछ्याइरहेका हुन्छन् तर आफू कहिँ पनि पुगिएको हुँदैन। त्यो महसुस जटिल हुन्छ र त्यसबाट कुनै न कुनै रूपमा आफूलाई बचाउनुपर्ने हुन्छ। यसरी नै सिकाइ पनि हुने हो।

तपाईंले निभाउने चरित्रका आधारमा हेर्दा तपाईंका भूमिकाहरू भिन्न र पृथक छन्। यसरी अगाडि बढ्दै गर्दा भोलि बाटो साँघुरिँदै जान्छ भन्ने डर लाग्छ कि लाग्दैन?

हो लाग्छ। तर त्यो डरलाई जान दिनुपर्छ। आफूसँग क्षमता छ भने अवसर पाइन्छ भन्ने विश्वास गर्नुपर्छ। ठुलो चुनौती त तब आँउछ जब मानिस त्यो स्थानमा पुग्छ जहाँ आफूलाई सुरक्षित बनाउन निश्चित कुराहरू गर्नुपर्छ। आर्थिक सुरक्षाको खोजी गर्ने नाममा कलाकारले आफ्नो व्यक्तित्व नै गुमाउनु हुँदैन।

कलाकारले आर्थिक सुरक्षाको बारेमा धेरै सचेत हुनु जोखिमपूर्ण हुन्छ। आफ्नो क्षमतामा विश्वास गर्नु मुख्य कुरा हो। आफूले बनाउन खोज्ने कुराका लागि भगवानले बनाएर पठाएको कुरालाई तिलाञ्जली दिनु हुँदैन। केही निर्देशक छन्, जसले उत्कृष्ट फिल्म बनाएका छन्। तर पछि उनीहरू ठूला स्टारलाई लिने नाममा नजानेको डुङ्गामा चढ्न खोज्छन् र डुब्छन्। उनीहरू आफ्नो विशेषता वा भिन्न क्षमतालाई चिन्न वा बुझ्न सक्दैनन्। ठूला स्टारका लागि आफ्नो ‘स्टोरीटेलिङ’को ब्राण्ड गुमाउनु हुँदैन।

र यो क्षेत्रको सबैभन्दा ठूलो विशेषता अनिश्चितता हो। यसलाई स्वीकार गर्न सक्नु नै ठूलो कुरा हो। यदि गर्न सकिँदैन भने गलत पेसामा छु भन्ने जाने हुन्छ।

आफूलाई आफूले गरेको कामप्रति वस्तुगत भएर हेर्नबाट जोगिन के गर्नुहुन्छ?

म काम मात्र हैन आफूलाई आफैसँग पनि भिन्न राख्न मन पराउँछु। यो अभ्यास नै भइसक्यो। म आफूलाई नाम, धर्म वा राष्ट्रियतासँग गाँस्दिन। ती सबै कुराहरू पिँजडा जस्तै हुन्। परिचय वा पहिचान पनि एक किसिमले भ्रम नै हो। म भ्रममा बाँचिरहेको छु, त्यसैले धेरै कुरालाई गम्भीर भएर लिनुहुन्न भन्ने कुरामा सचेत भइरहेको हुन्छु।

सार्वजनिक व्यक्तिको पहिचानसँग टाढा बस्ने सचेत प्रयासले आफ्नो वास्तविक व्यक्तित्वसँग बाँच्न सहज बनाउँछ जस्तो लाग्छ?

एकदमै। यसले मलाई तपाईंले सोचेभन्दा धेरै सुरक्षित राख्छ। कलाकारहरू कुनै विन्दुमा पुगेपछि असान्दर्भिक हुन थाल्छन्। आज वाहवाही पाएका चर्चित व्यक्तिहरूलाई एक विन्दुपछि मानिसहरूले बिर्सिन्छन्। यसले चोट पुर्याउँछ किनकि जति जे नै भने पनि अभिनेताका लागि अरूले देखाउने आकर्षण सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सबैतिरबाट ध्यान पाइरहेको समय टुटेर जब आकर्षण हराउँछ, त्यसले नराम्रोसँग भत्काउन सक्छ। त्यस समयलाई थाम्न पनि केही न केही तयारी त हुनैपर्छ।

त्यो सहयोगी ‘सिस्टम’ आफ्नो परिवारसँग भएजस्तो लाग्छ?

छैन। साँचो भन्ने हो भने म त्यस्तो सहयोग खोज्दिन। म यी सबै कुराहरू परिवारलाई भन्छु तर सकेसम्म वा अवसर मिल्नासाथ त्यो अवस्था आफूमा बारम्बार ल्याइरहन्छु। आफैंलाई भनिरहन्छु कि ‘इरफान, यो झुठो पहिचानलाई विश्वास नगर।’

त्यो कुराले फिल्म छनौटलाई पनि असर गर्छ ?

म त्यस्तो कथा छान्छु, जसले मेरो अनुभवको क्षितिजलाई फराकिलो बनाओस्। त्यस्तो कथा होस् जुन कि त मेरो आसपास कहिल्यै नआएको होस् कि त जीवनमा आफैंले भोगेको जस्तो होस्। यदि मेरो जीवनसँग कुनै सम्बन्ध नै नराख्ने कथा छ भने त्यस्तो कथामा चरित्र निभाउन गाह्रो हुन्छ।

आफ्नो जीवनभन्दा पृथक संसारको अभिनयमा डुब्न सक्नु त ठूलो कलाकारको पहिचान पनि त हुन्छ होला नि।

त्यो साँचो हो। तर पात्रले जीवनको जटिलताहरूलाई प्रतिबिम्बित गर्नुपर्छ। हावामा बनाइएको असान्दर्भिक कथाको के महत्त्व? मैले त्यस्ता पात्रहरू निभाएको छु, जसको मसँग व्यक्तिगत रूपमा कुनै सम्बन्ध छैन। मलाई तिनीहरूको चरित्र कसरी निर्माण गर्ने भन्ने बारेमा कुनै ज्ञान थिएन। त्यो खाले जटिलता मैले जीवनमा कहिल्यै भोगेको पनि थिइन। तर त्यो साँचो परीक्षा थियो। म ती पात्रहरू कस्ता हुन सक्लान् भन्ने बारेमा मात्र सोचिरहन्थेँ। त्यस्तो परीक्षा गाह्रो हुन्छ।

र त्यो यात्रा तपाईंको जीवन अनुभव भइदिन्छ, जसलाई कुनै अर्को चरित्र कोर्न सहयोग पुग्छ। मलाई लाग्छ, एक कलाकारको सबैभन्दा गहकिलो सुविधा भनेको उनीहरूले वास्तविक असरलाई नझेलिकन धेरै जीवन बाँच्ने अवसर पाउँछन्।

यो एक सुन्दर तथा भयावह सपना देखेजस्तै हो, जहाँ तपाईं यो सपना हो भनेर थाहा पाउनुहुन्छ। एक अभिनेता हुनुको आयाम त्यसैले पनि रोमाञ्चक छ। नराम्रो सपना देखिरहेको बेला यो केवल सपना हो भनेर जान्नु कति महत्त्वपूर्ण हुन्छ भन्नुहोस् न। ‘अब अगाडि के हुन्छ लौ हेरौं’ भन्न वास्तविक सपनामा कहाँ पाइन्छ र?

दीपिका र प्रियंका सँगै तपाईंले पनि पश्चिमा फिल्म उद्योगमा काम गर्नुभएको छ। त्यहाँका एकदमै विश्वसनीय फिल्महरूमा काम पनि गर्नुभयो। त्यसबाट उनीहरूले पाएको प्रचार र प्रशंसा तपाईंले यहाँ कमाउनुभएको चर्चाभन्दा ठुला छन् नि।

उनीहरूले ठुलो रूपमा आफूलाई प्रस्तुत गरे र त्यो उपलब्धि पाए। पाउन लायक पनि हुन्। उनीहरू यहाँ स्टार भए पनि त्यहाँ गएर त्यो सफलता पाउन गाह्रो हुन्छ होला भन्ने धेरैले अनुमान गरेका थिए। दुवैले पब्लिक रिलेसनलाई प्रयोग गर्न राम्रोसँग जान्दछन्। त्यसो गर्दा खुसी हुन सक्ने भए म पनि गर्थेँ होला।

यदि मेरो जीवन नै परिवर्तन गर्ने खालको फिल्ममा मैले हलिउडमा ब्रेक पाएँ भने म मेरो बारेमा हैन फिल्मको बारेमा मानिसले कुरा गरून् भन्ने चाहन्छु। म आफ्नो बारेमा कुरा गर्न गाह्रो मान्छु। मेरो घरमा तपाईंले सजिलोगरी एउटा पनि फोटो भेट्टाउन सक्नुहुन्न।

राष्ट्रिय अवार्डको बारेमा कुरा गरौं। पछिल्लो वर्ष ‘पिकु’बाट अमिताभ बच्चनले अवार्ड जिते। यसपालि अक्षयले ‘रूस्तम’का लागि लगे। एक सफल कलाकारको रूपमा तपाईंलाई यस्तो कुराले कसरी असर गर्छ ?

अवार्डको इमान्दारितामा सम्झौता हुने गरेका छन्।

दु:खको साथ भन्दा हामीकहाँ त्यस्ता अवार्ड कार्यक्रम छैनन्, जहाँ इमान्दारिता भेटियोस्। यदि कुनै अवार्ड यहाँ पाउनुभयो भने त्यसले जीवन परिवर्तन गर्नेवाला छैन। यो घरमा सजाउने प्रमाणपत्र वा ट्रफी मात्र हो। म सोच्छु, त्यस्तो कुनै अवार्ड होस् जसलाई पाएपछि एक कलाकारको जीवन नै परिवर्तन होस्। यस्तो ‘ट्याग’ त्यसले देओस् कि कलाकारले जीवनभर भिरेर हिँड्न पाओस्।

ओस्कार अवार्ड जित्ने कलाकारको नाम सुन्दा रौं ठाडो हुन्छ किनकि त्यहाँ ४ जना त्यस्ता व्यक्तिहरू नोमिनेट भएका हुन्छन्, जो जित्न लायक हुन्छन्। त्यसले पनि प्रतिस्पर्धाको स्तर देखाउँछ। त्यसैले ओस्कारको ओज गह्रौं छ। त्यसले कुनै कलाकारको करियरलाई वर्षौंसम्म बोकिरहन सक्छ। वास्तविक जित त त्यो हो। यहाँ त अवार्ड समारोह हुन्छन् र हराउँछन्।

एक कलाकारको रूपमा अवार्डबाट आउने मान्यता चाहिन्छ जस्तो लाग्दैन?

दर्शकले प्रस्तुति कति मन पराउँछन् त्यो नै सबैभन्दा ठुलो अवार्ड हो। मलाई लाग्दैन कि मैले केही कुरा गुमाइरहेको छु। अवार्ड पाएँ भने खुसी हुन्न भनेको हैन। जब मैले पद्मश्री पाएँ, त्यसमा म वास्तविक रूपमा खुसी भएको थिएँ। त्यसलाई मैले भावनात्मक रूपले स्वीकारेँ। तर विश्वसनीयता र ओज नभएको अवार्डको भने काम छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *