प्रधानमन्त्री हुने रहर छ

२२ वर्षअघि हेटौंडामा जन्मिएकी श्रृंखला खतिवडा अघिल्लो बुधबार रातिदेखि मिस नेपाल वल्र्ड–२०१८ का रूपमा चिनिन थालेकी छिन् । हेटौंडाबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएकी श्रृंखलाले प्लस टु तथा स्नातक तहको अध्ययन पूरा गरेपछि मिस नेपाल–२०१८ मा प्रतिस्पर्धा गरिन् । ५ फिट ७ इन्च अग्ली श्रृंखलाले जीवनमा पहिलो पटक कुनै सौन्दर्य प्रतियोगितामा सहभागिता मात्र जनाइनन्, त्यसमा सफलतासमेत हात पारिन् । एमाले सांसद विरोध खतिवडाकी छोरी श्रृंखलाकी आमा मुनु सिग्देल पनि राजनीतिकर्मी हुन् । २४ जना प्रतिस्पर्धीलाई पाखा लगाएर मिस नेपाल वल्र्ड–२०१८ को उपाधि जित्न सफल श्रृंखलाले भविष्यमा आर्किटेक्चरका रूपमा देशको सेवा गर्ने लक्ष्य लिएकी छिन्।

मिस नेपाल वल्र्ड–२०१८ को उपाधिलाई कसरी इन्जोय गरिरहनुभएको छ ?
अहिले पब्लिकको आँखामा परिरहेकी छु । जिम्मेवारी बोध पनि भैरहेको छ । घरकी मात्र नभै देशकै छोरी हुँ भन्ने लागिरहेको छ । बाटोमा हिंड्दा धेरैले चिन्न थाल्नुभएको छ । सामाजिक सञ्जालमा फलोअर्स बढिरहनुभएको छ ।

राजनीतिक पृष्ठभूमि भएको परिवारकी छोरी, ग्ल्यामर क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
म मिस नेपाल ग्ल्यामरको क्षेत्र हो भनेर आएकी होइन । अहिले पनि म मिस नेपाललाई ग्ल्यामरको क्षेत्र मान्दिनँ । ग्ल्यामर एउटा पार्ट हो मिस नेपालको, तर ग्ल्यामर मात्र सबै कुरा होइन । मिस नेपाल देशकै एउटी महिला पात्र प्रतिनिधि हुन् भन्ने मेरो बुझाइ छ ।

तपाईं स्वयं मिस नेपालका लागि कसरी तयार हुनुभयो ?
मिस नेपाल एउटा राष्ट्रिय स्तरको प्रतियोगिता हो । यहाँ आएपछि मेरो भ्वाइस पावरफुल हुनेछ भन्ने मलाई थाहा थियो । जति पब्लिकले चिन्नुहुन्छ, त्यति नै आफ्नो भ्वाइसले मान्यता पाउँछ भन्ने कुरा पनि मैले बुझेकी छु । त्यही कुरा मनन गर्दै म यो प्रतियोगिताका लागि तयार भएकी हुँ ।

सांसद बुबा–आमालाई कसरी कन्भिन्स गराउनुभयो ?
उहाँहरूलाई मैले म मिस नेपालमा ग्ल्यामर अथवा फेम हेरेर जान लागेकी होइन, म परिवर्तनको संवाहक बन्न जाँदैछु भनेर सम्झाएँ । मिस नेपाललाई एउटा सम्पूर्ण गुण भएकी महिलाका रूपमा हेरिन्छ । ममा पनि त्यो हुन सक्ने क्षमता छ भन्ने कुरा बुवा–आमालाई बुझाएपछि नै मैले यो प्रतियोगितामा सहभागिता जनाउने अनुमति पाएँ ।

मिस नेपालमा सहभागिता जनाउने तयारी कति वर्ष पुरानो हो ?
सोच त धेरै अघिदेखिकै हो । एसएलसी दिनुअघि नै कुनै न कुनै वर्ष मिस नेपालमा प्रतिस्पर्धा गर्नेछु भन्ने सोचिसकेकी थिएँ । यद्यपि मैले यसमा सहभागिता जनाउनुअघि आफूलाई योग्य बनाउनुपर्ने थियो । त्यसैले मैले पछिल्ला वर्षहरू पढाइ र करियरमै फोकस गरें । पुल्चोक क्याम्पसबाट आर्किटेक्टमा स्नातक गरेपछि वर्ष २०१८ को मिस नेपालमा भाग लिन्छु भन्ने योजना थियो । त्यही अनुसार यो वर्ष सहभागिता जनाएकी हुँ ।

स्कुल तथा कलेजमा तपाईं कुन श्रेणीको विद्यार्थी हुनुहुन्थ्यो ?
स्कुलमा ठीकै थिएँ । कक्षा ५ मा पुगेपछि भने मैले मेहनत गर्न थालें । त्यसपछि म टप फाइभमा पर्न थालें । एसएलसी र प्लस टुमा डिस्टिङ्सन ल्याएँ । स्नातकमा त कलेज नै टप गरें । यी सबै उपलब्धि मेरो कठोर मेहनतकै प्रतिफल थिए ।

पढ्ने शैली कस्तो थियो ?
एसएलसी र प्लस टुको बेला दिनरात नभनी पढें । पढ्दा–पढ्दै म त्यहीँ किताबसँगै निदाउँथेँ र ब्युँझिनेबित्तिकै फेरि पढ्न थाल्थें । स्नातकको आर्किटेक्टको पढाइ अझ गार्‍हो थियो । कति रात त एक घण्टा पनि नसुती बिताएकी थिएँ । त्यो पाँच वर्षको अवधिमा बिहानको तीन–चार बजेसम्म पढ्नु मेरो रुटिन नै थियो ।

एसएलसी दिनु अघिसम्म कस्तो योजना बनाउनुभएको थियो ?
मलाई त पाइलट बन्ने ठूलो रहर थियो । घरमा पनि कुरा गरेकी थिएँ । त्यतिबेला पाइलट पढ्न ४०–५० लाख रुपैयाँ लाग्छ भन्ने सुनेकी थिएँ । बुवालाई ‘मलाई पाइलट पढाउन सक्नुहुन्छ त ?’ भनेर सोधेकी पनि थिएँ । बुबाले रहरै गर्छेस् भने त जसरी पनि पढाउनुपर्छ भन्नुभएको थियो । अर्को मनले चाहिं पाइलट पेसा अलि असुरक्षित हुन्छ पनि भन्थ्यो । अरू विषयमा स्नातक गरेर पनि पाइलट कोर्स गर्न सकिन्छ भन्ने कुरा बुझेपछि मैले त्यो रहर त्यागें र आर्किटेक्ट बन्ने निर्णय गरें ।

भनेपछि मिस नेपाल खासै प्राथमिकतामा थिएन ?
त्यस्तो होइन । सानै छँदा हेटौंडाको बजारमा आमासँग हात समाएर हिँड्दा मानिसहरूले ‘ओहो, छोरी त कस्ती राम्री, मिस नेपालजस्ती…’ भनेको सुन्दा मनको एउटा कुनामा ठूली भएर मिस नेपाल नै पो बन्नु पर्छ कि क्या हो भन्ने धारणाचाहिं विकसित भैरहेको थियो ।

तपाईं कस्तो स्वभावकी युवती ?
म साधारण छु, आत्मीय अनि सकारात्मक पनि छु । सबैसँग सहजै घुलमिल हुन सक्ने स्वभावकी छु । मिलनसार पनि छु । म साथीहरूको सानो सर्कलमा रमाउने मान्छे हुँ । म धेरै ठूल्ठूला कुराको सौखिन पनि छैन । ग्याजेटदेखि पहिरनसम्म मलाई साधारण कुरा नै मनपर्छ ।

साथीहरूको सर्कल कस्तो छ ?
साथीहरू पनि म जस्तै छन् । तीमध्ये एक जना बेस्ट फ्रेन्ड छिन्– चाहना पौडेल । उनी र म नर्सरीदेखि स्नातकसम्म सँगै पढेका हौं ।

मिस नेपालको प्रशिक्षणले श्रृंखलालाई के फाइदा पुर्‍यायो ?
प्रशिक्षणका क्रममा हामीले आफैंलाई चिन्ने मौका पायौं । आफू जे हो, त्यसलाई स्वीकार गर्न सक्नुपर्छ भन्ने सबैभन्दा ठूलो शिक्षा पायौं । आफूलाई स्वीकार्दै आफैंप्रति गौरव गर्न सिक्यौं । हामीले पछि गएर समाजकै नेतृत्व गर्न सक्छौं भन्ने आत्मविश्वास बढ्यो । त्यो प्रशिक्षणले हामीमा क्षमता छ भन्ने कुरा पनि उजागर गरिदियो । आफूलाई कसरी प्रस्तुत गर्न सकिन्छ, आफ्नो आत्मविश्वास कसरी बढाउन सकिन्छ भन्ने कुरा सिकियो । महिला हुनुको अर्थ बुझ्न पाइयो । महिलाको पक्षमा बोल्ने सक्ने शक्ति प्रदान गर्‍यो । सोच्ने क्षमतामै परिवर्तन आयो । त्यसबाहेक पहिरन, मेकअप, क्याटवाकजस्ता कुरा त सामान्य नै भए ।

मिस नेपालको पहिलो खुड्किलो अर्थात् अडिसन कस्तो रह्यो ?
अन्नपूर्ण होटलमा सम्पन्न अडिसनमा हाम्रो प्रोफाइल परिक्षण गरियो । हाम्रो बायोडाटा तथा तस्बिर हेरेपछि सामान्य प्रश्नोत्तर भयो । मसँग मेरै क्षेत्र अर्थात् आर्किटेक्टका कुरा सोध्नुभयो । राणाकालीन समयका भवनहरू भत्काइएको विषयमा जिज्ञासा राखिएको थियो ।

प्रशिक्षणका क्रममा भोगेका तीता–मीठा अनुभव कस्ता रहे ?
मेरा लागि त सम्पूर्ण प्रक्रिया नै नयाँ थियो । प्रतिस्पर्धी साथीहरू नयाँ थिए, क्षेत्र नै नयाँ थियो । कतिपय प्रतिस्पर्धी मोडलिङ पृष्ठभूमिको हुनुहुन्थ्यो भने कतिपय अभिनय पृष्ठभूमिको । ग्ल्यामर पृष्ठभूमि नभएको त म एक्ली नै थिएँ जस्तो लाग्छ । ग्ल्यामर क्षेत्रको अनुभव नभएकै कारण कतिपटक त साँझमा घर पुगेपछि भोलिपल्टदेखि प्रशिक्षणमै नजाउँmझैं लाग्थ्यो । मैले आमालाई समेत प्रशिक्षणमा नजाने कुरा बताएकी थिएँ । म हरेक क्षेत्रमा टप हुने भएकाले म यसमा फिट हुन सक्दिनँ कि भन्ने पनि लाग्थ्यो । यद्यपि भोलिपल्ट बिहान उठेपछि म पुन: प्रशिक्षणका लागि तयार हुन्थें । यत्रो ठूलो सपना देखेकी मान्छे, सानो कुरामा हरेस खानु हुँदैन भनेर पुन: तम्तयार भएर प्रशिक्षणस्थलमा पुग्थें । यद्यपि सहज तरिकाले प्रशिक्षणमा सहभागी हुन तथा सबै प्रतिस्पर्धीसँग घुलमिल हुन मलाई झन्डै दुई साताको समय लागेको थियो ।

कुनै विधामा अगाडि, कुनैमा पछाडि भएको अनुभव गर्नुभएको हो ?
आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक विषयका कक्षाहरूमा म सधैं अगाडि हुन्थें भने मेकअप, फेसन, हेयर आदिका कक्षामा भने पछाडि पर्थें । एउटा सानो घटनाले भने मलाई प्रतिस्पर्धामा सक्रिय भएर सहभागि हुन शतप्रतिशत तयार गरायो । एउटा आउटडोर भ्रमणका क्रममा एक जना प्रशंसक बहिनीले सामाजिक सञ्जालमा मलाई पनि सम्भावित विजेताका रूपमा राखेर चर्चा भैरहेको जानकारी दिँदै केही मार्ग निर्देशनसमेत गरिन् ।

उनले त्यस्तो के भनिन् त ?
मैले उनलाई आफू क्याटवाक, फेसनजस्ता कुरा जति सिके पनि सिक्न नसकेको बताएकी थिएँ । उनले ‘मान्छे पो राम्रो हुनुपर्छ, ती कुरा त सिक्यो भने जसले पनि सिकिहाल्छ नि’ भनेपछि पो म झसंग भएँ । लाग्यो, त्यति सानो कुराका लागि म किन आत्तिएकी होला ? त्यसपछि भने मैले असाध्यै मेहनत गर्न थालें । निर्णायक प्रतियोगिताको पछिल्ला दुई–हप्ताको अवधिसम्म आइपुग्दा ममा धेरै परिवर्तन आइसकेको थियो ।

प्रतिस्पर्धीहरूबीच एक–अर्कालाई गर्ने व्यवहार कस्तो पाउनुभयो ?
सबैलाई अति नै मिलनसार पाएँ । एकले अर्कोलाई प्रतिस्पर्धीका रूपमा हेर्दै नहेर्ने । यो एउटा प्रतिस्पर्धा भएकाले मैले त्यति सहयोगी साथीहरू पाउँछु भन्ने अपेक्षा नै गरेकी थिइनँ । कसैको ड्ेरस भएन भने आफ्नो ड्ेरस दिने, केश बिग्रियो भने बनाइदिने, मेकअप गरिदिने अर्थात् हरेक कुरामा एक–अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना बोकेका प्रतिस्पर्धीहरूलाई मैले साथीका रूपमा पाएँ ।

निर्णायक प्रतिस्पर्धाभन्दा अघिको मनस्थिति कस्तो थियो ?
ठ्याक्कै २४ घण्टा अघिदेखिको मनस्थिति बताउँदा रमाइलो होला । अन्नपूर्ण होटलमा हामीलाई डबल–डबल बेड दिइएको थियो अर्थात् हरेक कोठामा दुई–दुई जना प्रतिस्पर्धी थियौं । हामी २५ जना भएकाले मेरो कोठामा चाहिं तीन जना भयौं । मेरो भागमा सिंगल बेड परेको थियो । ग्रान्ड फिनालेको अघिल्लो राति सुत्ने बेलामा मैले प्रश्नोत्तरको नोटलाई सिरानीमुनि राखेर सुत्ने निर्णय गरें । म भगवान् र भाग्यमा विश्वास गर्ने भएकाले भोलिको दिन मेरा लागि भाग्यशाली होला कि भन्ने कल्पनामा डुबेकी थिएँ । भोलि सुत्ने बेलामा मिस नेपालको मुकुट यहीं राखेर सुत्छु भन्ने कल्पना गर्दै निदाएछु । त्यसको २४ घण्टा नबित्दै मेरो कल्पनाले साकार रूप लिइसकेको थियो । ग्रान्ड फिनालेको दिन बिहान चाँडै ब्युझिएँ । ब्युँझिनेबित्तिकै आजको प्रतिस्पर्धा मैले नै जित्छु कि भन्ने भावना मनमा आएको थियो । त्यही कुराले होला फिनालेमा म अझ बढी आत्मविश्वासी भएकी थिएँ । बोल्न त रत्तिभर डर लागेन ।

मिस नेपाल वल्र्डको उपाधि आफैंले जित्दैछु भन्ने कुराको आभास कुन बेला भयो ?
म टप १५ को जवाफबाट आफैंप्रति सन्तुष्ट थिइनँ । यद्यपि मेरो जवाफ त्यति नराम्रो पनि थिएन । टप सेभेनमा पुगेँ भनेचाहिं म जितेरै फर्कन्छु भनेर सहभागि केही साथीहरूलाई भनिसकेकी थिएँ । भाग्यवश म उत्कृष्ट सातामा परें । त्यहाँ पुगेपछि मेरो आत्मविश्वास अझ बढ्यो । अन्तिम चरणमा मैले दुई जना साथीको जवाफ सुन्न पाइनँ । बाँकी चार जनाको उत्तर सुनेपछि मैले दुईमध्ये एउटा उपाधि त पक्कै जित्छु भन्ने लाग्यो । मेरो जवाफ सुनेर दर्शकबाट आएको प्रतिक्रियाले पनि मेरो आत्मविश्वास बढाएको थियो । ब्याक स्टेजमा फर्कने बित्तिकै साथीहरूले नै बधाइ दिन थाले । यद्यपि नतिजा घोषणा हुन बाँकी नै थियो ।

उपाधिको घोषणा हुनै लाग्दाको क्षण कस्तो रह्यो ?
मुख्य तीन स्पटको घोषणा भएलगत्तै मिस नेपाल वल्र्डमा मेरै नाम घोषणा हुन्छ भन्ने कुरामा ढुक्क थिएँ । त्यसका लागि म आफ्नो पहिरन मिलाएर अघि बढ्न ठिक्क परिसकेकी थिएँ । उद्घोषकले मेरो नाम घोषणा गर्दा त खासै अनौठो लागेन, किनभने मैले त्यो क्षणको कल्पना पहिले नै गरिसकेकी थिएँ । मुकुट लगाउन अगाडि पुग्दा भने हल्का खुट्टा काँप्यो, ठीक त्यहीबेला झ्याप्पै बत्ती निभेको मौका पारेर मैले आफ्नो आँसु पनि पुछें । त्यसपछि त हाँसेको हास्यै भएँ । सबैलाई मनमनै धन्यवाद दिएँ ।

प्रसंग बदलौं, बुवा–आमा नै राजनीतिमा हुनुहुन्छ । भविष्यमा तपाईं पनि राजनीतिमा आउने सम्भावना कत्तिको छ ?
राजनीतिमा आउने कुरा मैले अहिले नै सोचिसकेकी छैन । यद्यपि म हरेक व्यक्ति राजनीतिप्रति सचेत हुनुपर्छ भन्ने कुरामा विश्वास राख्छु । मैले राजनीतिलाई नजिकबाट नियालेकी छु । राजनीति बुझेकी छु । यद्यपि म अहिले नै राजनीतिमा आउँदिनँ । मैले आजको मितिसम्म कुनै पनि राजनीतिक दल वा तिनको भ्रातृ संगठनको सदस्यता लिएकी छैन ।

राजनीति मन पर्दैन भन्न खोजेको त होइन नि ?
विगतमा मैले राजनीतिमा त्यति सकारात्मक पक्ष देखिन । एक प्रकारले मलाई राजनीतिप्रति वितृष्णा नै थियो भन्दा फरक पर्दैन । सानैदेखि बुवा–आमा घरमा त्यति धेरै सँगै नबसेको देखेर राजनीति भनेको राम्रो होइन, आमा–बुवासँग बस्न पाइनँ भन्ने परेको थियो । यद्यपि अहिले आएर राजनीति भनेको अत्यन्त महत्वपूर्ण कुरा हो भन्ने त बुझें, सबै जना सचेत हुनुपर्छ भन्ने पनि बुझें, तर राजनीतिमै लाग्छु भनेर मैले सोच्न भ्याएकी छैन । सामाजिक कार्यकर्ताका रूपमा काम गर्न सक्छु, त्यसका लागि राजनीति नै गर्नुपर्छ जस्तो लागेको छैन । मलाई संघ–संगठनमार्फत कार्यकर्ताका रूपमा राजनीतिमा लाग्नु नै छैन ।

भविष्यमा कुनै सम्भावना छ कि ?
नहाँस्नुहोला, मलाई यो देशको प्रधानमन्त्री हुने रहर छ । हुन त यो रहर धेरैमा हुन्छ होला, तर ममा भने अलि बढी नै छ । अबको १५–२० वर्षपछि म प्रधानमन्त्री नै बन्छु कि ? यद्यपि त्यसका लागि राजनीति नै गर्नुपर्छ, तर मलाई राजनीतिमा चाहिं आउने मन छैन ।

श्रृंखलाको सकारात्मक पक्ष के हो ?
म जस्तोसुकै परिस्थितीलाई पनि सहजतापूर्वक ग्रहण गर्न सक्छु । जति नै ठूलो बज्रपात परे पनि दुई दिनपछि सामान्य भैसकेकी हुन्छु । सुखमा नमात्तिने र दु:खमा नआत्तिने मेरो अर्को राम्रो बानी हो ।

कत्तिको फेसनेसनल हुनुहुन्छ ?
पटक्कै छैन । आफूलाई सुहाउने पहिरन लगाउन पाए पुग्छ, फेसनलाई फलो गर्दिनँ ।

मेकअपमा कति समय खर्चिनुहुन्छ ?
म खासै मेकअप गर्दिनँ । आँखामा मस्कारा र गाजल लगाउँछु भने छाला मुलायम देखियोस् भन्ने चाहन्छु ।

मिस वल्र्ड–२०१८ को तयारी कहिलेदेखि थाल्दै हुनुहुन्छ ?
नेपालको प्रतिनिधित्व हुने उक्त महत्वपूर्ण प्रतियोगिताको तयारी थालिसकेकी छु । त्यसका लागि रिसर्च गर्दैछु । ब्युटी विद पर्पसका लागि भूकम्पपछिको पूनर्निर्माणलाई मुख्य विषय बनाएकी छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *