‘फिल्मका अश्लील दृश्यमा लाग्ने सेन्सरसिपभन्दा राजनैतिक सेन्सरसिप डरलाग्दो छ’

प्रदीप्त भट्टाचार्य भारतीय निर्माता र सम्पादक हुन्। उनको पहिलो फिचर फिल्म ‘बाकिता ब्याक्तिगाटो’ ले भर्खरै उत्कृष्ट प्रादेशिक फिल्म विधामा, राष्ट्रिय अवार्ड प्राप्त गरेपछि उनको चर्चा चुलिएको छ। तर उनको खास परिचय भने छोटा फिल्मले दिएका छन्। उनी चमकदार सिनेमा जगतभन्दा फरक धारका फिल्म बनाउन माहिर छन्।

दिती भट्टाचार्यले इन्डियारेसिस्ट डट कमको लागि लिएको यो अन्तर्वार्ता सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ।

स्वतन्त्र फिल्म बारेमा तपाईंको धारणा के छ?

तपाईंसँग कुरा गर्न पाउँदा खुसी लागेको छ। फिल्म बनाउन पैसा चाहिन्छ। तर यदि त्यो स्वतन्त्र फिल्म हो भने फिल्म बनाउने पैसा या त आफैं लगानी गर्नुपर्छ या त क्राउड फण्डिङ मार्फत जुटाउनु पर्छ। यस्तो फिल्मले नाफा कमाउने उद्देश्य लिएको हुँदैन। तर मेरो विचारमा ती सबै फिल्महरू स्वतन्त्र हुन् जहाँ सोचाइको उडानलाई बाँधिंदैन। दर्शकले के भन्लान्? मन पराउनलान् कि नपराउलान् भन्ने कुराको दबाब पनि हुँदैन। कुनै सेन्सरको अवरोध पनि भोग्नु पर्दैन। पछिल्लो समयमा ती फिल्महरूसँग धेरै पक्षहरू पनि जोडिन थालेका छन्। नियमित थिएटरमा रिलिज हुन्छ हुँदैन, हिट भयो कि फ्लप भयो आदि इत्यादिसँगै फिल्म फेस्टिभल पनि जोडिएको छ। यदि तपाईं स्वतन्त्र फिल्म बनाउँदै हुनुहुन्छ तर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन होस् भन्ने चाहनुहुन्छ भने उनीहरूको छनौट वा मन पराइको प्रभाव अवश्यै पर्छ। मेरो लागि भने त्यो पनि स्वतन्त्र फिल्म हैन।

यसको मतलब पुरानै फिल्महरू स्वतन्त्र फिल्मको नाममा पुन: देखाइँदै छन् ?

यसलाई त्यसरी बुझ्दा पनि हुन्छ ।

के कुनै स्वतन्त्र निर्माताले कोही निर्माताबाट पैसा लिएर स्वतन्त्र फिल्म बनाउन सक्दैन ?

पैसा लिनासाथ उसको स्वार्थमा उत्तरदायी नहुने हो भने हुन सक्ला। तर यो गाह्रो काम हो। यदि निर्माताले यस्तो गर वा उस्तो गर भन्छ भने वा केही परे कथानै परिवर्तन गर्छ भने त्यहाँ स्वतन्त्रता हुँदैन।

प्रदर्शन गर्दा निर्देशकले टिकटको पैसा निर्धारण गर्नुपर्छ कि दर्शकहरूले मन लागेजति दान गर्न पाउनुपर्छ ?

यो निर्माता सँग कुराकानी गरेर पहिला नै निर्णय गर्नुपर्छ। यहाँ निर्माता र निर्देशकको बीचमा फरक मत हुन सक्छ तर यस्तो सधैंभरी हुँदैन।

त्यसो भए एउटा स्वतन्त्र निर्मातासँग फिल्म बनाउने र प्रदर्शन गर्ने पूर्ण स्वतन्त्रता हुन्छ ?

त्यहाँ अर्को महत्त्वपूर्ण पक्ष पनि छ र त्यो हो वितरण।

उसो भए के फिल्मलाई थिएटरमा लगाउनुमा वितरकहरूको केही स्वार्थ हुँदैन त ?

म त्यो वितरणको कुरा गरिरहेको हैन। म त बनाएको फिल्मको विस्तार र सेयरिङको कुरा गरिरहेको छु। म तपाईंलाई मेरो फिल्मको डिभिडी दिँदै छु। तपाईं त्यसलाई स्थानीय स्तरमा कतै देखाउनुहुन्छ कि थिएटरमा त्यो निर्णय मेरो हुनुपर्छ।

यदि तपाईं आफ्नो फिल्मलाई कुनै चर्चित थिएटरमा देखाउन चाहनुहुन्छ भने त्यहाँ केही समस्याहरू भोग्नु पर्ला कि नपर्ला?

पहिलो कुरा त उनीहरू धेरै पैसा लिन्छन्। दोस्रो कुरा उनीहरू मूलधारका ठूला लगानीका चलतित्र मात्र देखाउँछन् ताकि मुख्य समयमा उनीहरूको कमाइ होस्। त्यसैले सो दिइहाले पनि उनीहरू एकदमै अप्ठ्यारो समयमा दिन्छन् जहाँ कोही पनि हेर्न आउन पाउँदैनन्। व्यक्तिगतरूपमा मलाई यो त्यति धेरै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्दैन। आफ्ना दर्शकसम्म पुग्न अर्कै वैकल्पिक माध्यम खोज्नुपर्छ।

तपाईंको मतलब स्वतन्त्र फिल्म निर्माताहरूले बक्स अफिस कलेक्सन वा हिट वा फ्लप भिन्नताबारे कुनै चिन्ता लिनु पर्दैन।

एकदमै। आजकाल त अन्य उपलब्ध माध्यमहरूबारे सोच्ने बेला आइसक्यो नि। त्यो मध्येको मुख्य माध्यम त इन्टरनेट छँदै छ।

तपाईंले नेटफ्लिक्स भन्नु खोज्नुभएको हो?

नेटफ्लिक्स अर्को वितरण च्यानल हो। तर म निःशुल्क वितरण माध्यम जस्तो युट्युबको कुरा गरिरहेको छु। फिल्म बनाउँदै गर्दा निर्मातालाई कति पैसा फर्काउन सक्छु भन्ने विषयलाई लिएर धेरै टाउको दुखाउनु हुँदैन। त्यसपछि मात्र तपाईंको काम ठीक लयमा आउँछ। यो कुरा पहिला नै प्रष्ट हुनुपर्छ। तर यसो भन्दैमा निर्माताको पैसा खोलामा बगाउने भनेको पनि हैन। दुवै पक्षलाई विशेष ध्यान दिइनुपर्छ।

भारतीय स्वतन्त्र फिल्महरूमा तपाईंको बुझाई के छ?

मराठी फिल्म निर्माता चैतन्य तमहानेले बनाएको ‘कोर्ट’ फिल्मले मलाई धेरै प्रभाव पार्‍यो। त्यो एकदमै सुन्दर फिल्म हो। भारतका विभिन्न राज्यमा धेरै त्यस्ता स्वतन्त्र फिल्महरू बनिरहेका छन्। तर मैले अगाडि भनेको जस्तो अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा जाने उदेश्यले धेरै फिल्म प्रभावित छन् । कुनै बिन्दुमा आफ्नो स्थानीय संस्कृतिलाई देखाइन सकिन्छ तर ती विषयहरूको गहिराइलाई देखाउँदा विश्वव्यापी रूपमा नबुझिने हुन सक्छ। यहाँ कसैले फिल्म बनाएर महोत्सवमा पठाइरहेको छैन कि महोत्सवमा पठाउने भनेर फिल्म बनाइरहेको छ। त्यसले कथा र प्रस्तुतिमा प्रभाव पार्छ । म तिनलाई स्वतन्त्र फिल्म भन्दिन। दक्षिण भारतमा धेरै खाले प्रयोग पनि भइरहेका छन् । क्राउड फण्डिङबाट बनाइएको ‘लुसिया’ फिल्म अहिले चर्चामा छ। मैले भने हेर्न पाएको छैन।

के मूलधारको फिल्म उद्योगले स्वतन्त्र फिल्महरूलाई दु:ख दिन्छन्?

हो । उनीहरू चाँडोभन्दा चाँडो यसको तरिका कपी गर्न चाहान्छन् ।

हामीले पछिल्लो समय देखेका छौ कि धेरै चर्चित निर्देशकहरूले छोटा फिल्म बनाएर युट्युबमा हालिरहेका छन् । केही समय अगाडि सम्म पनि उनीहरू छोटा फिल्महरूलाई फिल्मनै गन्दैन थिए।

मूलधारका निर्देशकहरूले छोटा फिल्मलाई विज्ञापन जस्तो बनाइरहेका छन्। धेरैजसो त्यस्ता फिल्महरू बहुराष्ट्रिय कम्पनीहरूको प्रायोजनमा उनीहरूकै लागि पनि बनेका छन्। रक्सी, साबुन, तेल, स्याम्पुको विज्ञापन मात्र हुन् ती। तर धेरै युवाहरू पनि छन् जो साँच्चिकै दु:ख र मेहनेत गरेर फिल्महरू बनाइरहेका छन्।

सूचना र प्रविधि वास्तवमै सुन्दर उपहार भइदिएको छ। यदि म बेहारमपोरेमै (उनको स्थायी ठाउँ) बसेको भए र कलकत्ता नआएको भए मलाई फिल्म कसरी बन्छ भन्ने कुरा पनि थाहा हुने थिएन । मैले सोचेको फिल्म बनाउने प्रक्रिया अर्कै केही थियो । मलाई फिल्म इन्स्टिच्युटहरू हुन्छन् भन्ने पनि थाहा थिएन । कलकत्ता आएपछि सबैथोक फेरिएको छ। अहिले त यदि ग्रामीण भेगका कोही केटा वा केटीसँग पनि यदि इन्टरनेट छ वा मोबाइल छ भने सबै कुरा त्यहाँबाटै बुझ्न र सिक्न सक्छन्। त्यहाँ नै बसीबसी फिल्म बनाउन पनि सकिन्छ। त्यहाँ बसेर नै उत्कृष्ट फिल्म उनीहरू हेर्न सक्छन्। मूलधारको फिल्म उद्योग यही कुरा कपी गर्न चाहान्छ र त्यसैले उनीहरू त्यस्ता प्रोपोगाण्डा फिल्महरू बनाउँछन्। मूलधारमा हामीलाई अहिले पनि फादार फिगर जस्तो कुनै पात्र चाहिएको छ।

हाम्रो देशमा जसले पनि फिल्म रिभ्यु लेख्न सक्छ भनिन्छ। तपाईंलाई के लाग्छ ?

फिल्म समालोचना निक्कै गह्रौँ विधा हो। यहाँ त धेरैजसो रिभ्यु या त कथामा आधारित हुन्छन् या अभिनय वा सङ्गीतमा । आलोचना गर्नुभन्दा पहिला उक्त विषयको प्राविधिक पक्षमा राम्रो ज्ञान हुनै पर्छ । त्यसको लागि पढ्नुपर्छ । तर पढ्ने कसले ? त्यो भन्दा बरु उनीहरू तत्कालै रिभ्यु लेख्छन् र छाप्छन्।

के मूलधारको उद्योगले त्यस्ता समालोचकहरूको कुरा सुनेर केही फिल्मलाई सीमान्तकृत गर्दै लैजानुपर्छ ?

उनीहरू भन्दिन्छन् कि ती त फिल्महरूनै हैनन्। तर मलाई लाग्छ कि केही समयपछि तिनै फिल्महरूलाई साँचो अर्थमा फिल्महरू हुन् भनेर बुझिनेछ। उनीहरूलाई लाग्छ कि फिल्म खिच्नलाई निश्चित उपकरण चाहिन्छ र यदि त्यो उपकरणले खिच्न सकेन भने त्यो साँचो फिल्म हैन। यदि ३ वा ४ वर्षपछि तपाईंले गरिसकेको कुनै कुरा ट्रेन्डमा आउँछ भने त्यसलाई उनीहरू फिल्म भन्दिन्छन्। उनीहरू गबेल्सको सिद्धान्तमा विश्वास गर्छन् जसमा पटक पटक बोलिरहेपछि झुटो पनि एक दिन साँचो हुन्।

तपाईंले यस्तो अवस्था भोग्नुभएको छ जहाँ तपाईंको सामाग्री चोरी भएको होस्।

धेरै पल्ट। म मेरो कथालाई धेरैजनाको अगाडि सुनाएर भिन्दा भिन्दै पाटोहरू ल्याउने प्रयास गर्दै विकास गर्थेँ। तर मैले थाहा पाएँ कि कसैले त्यही कथालाई लिएर ६ महिनामै फिल्म तयार गरिसक्यो। जबकि मलाई त्यसो गर्न २ वर्ष लाग्थ्यो। यहाँ सक्कली सामाग्रीको ठुलो सङ्कट छ । उनीहरू आफ्नो बनाउने बारेमा सोच्दै सोच्दैनन्।

तपाईंले आफ्नो फिल्म ‘बाकिताब्याक्तिगाटो’ क्राउड फण्डिङ मार्फत धेरै स्थानहरूमा देखाउनुभयो । तपाईं र तपाईंको साथी धेरै स्थानमा प्रोजेक्टर लिएर पनि पुग्नुभयो र धेरै स्थानीय व्यक्तिहरूलाई देखाउनुभयो । स्वतन्त्र फिल्म निर्माताहरूको लागि यो उचित तरिका हो जस्तो लाग्छ?

यो नयाँ तरिका हैन। असीको दशकमा जोन अब्राहम (एफटि सेकेण्डको विद्यार्थी) ले पनि यस्तै गरेका थिए। उनी उत्कृष्ट निर्देशक थिए। उनले क्राउड फण्डिङ गरेर फिल्म पनि बनाएका थिए। उनी साँचो अर्थमा स्वतन्त्र फिल्म निर्माता थिए। मैले पुर्नेन्डु पाट्रीको बारेमा पनि सुनेको छु जसले पनि क्राउड फण्डिङ गरेर फिल्म बनाएका थिए। स्वतन्त्र फिल्म निर्माणमा स्वतन्त्र वितरण भित्राउने यो एउटा बाटो हुन सक्छ। मेरो हकमा भने मैले तेहत्तामा प्रदर्शन गर्दै गर्दा नजिकै लैजान सकिन्छ भनेर थाहा पाएको हुँ। तर यसलाई प्रक्रिया बनाएर नियमित गर्ने हो भने सबै पक्षको एकता चाहिन्छ।

समालोचकबाट छानिएका, महोत्सव वा निजी प्रदर्शनीमा देखाइएका वा ट्रेन्डिङमा गएका वा सामाजिक सञ्जालमा चर्चित भएर कुराकानी गरिएका माध्यम बाहेक ठुलो सङ्ख्यामा दर्शकसम्म पुग्ने अरू के उपाय होलान् त ? तपाईंलाई के लाग्छ ?

यही कुरा भइरहेको छैन र यही त मुख्य समस्या छ। वास्तवमा धेरै कमले मात्र छुटेका ती तमाम दर्शकहरूलाई आगामी दर्शक मान्छन्। त्यसैले उनीहरूसम्म पुग्न कसैलाई हतार भएको देखिँदैन । ती दर्शकहरू यस्ता खाले फिल्म हेर्न बानी भएका पनि हुँदैनन्। उनीहरूलाई मूलधारका फिल्म बाहेक अरू फिल्म हेराउने एउटा मात्र उपाय भनेको फिल्म सित्तैमा हेराइनु पर्छ। उनीहरूलाई पाँच वा त्यो भन्दा बढी वर्षसम्म मूलधारमा बाहेक विभिन्न खाले अन्य फिल्महरू हेराउने हो भने मात्र यस्ता फिल्मप्रति उनीहरूको रुची जघाउन सकिन्छ। उनीहरूले त्यसलाई नकार्न पनि सक्छन् तर मैले ‘बाकिता ब्याक्तिगाटो’ देखाएको अनुभवले भन्छ कि मानिसहरूले मन पराउँछन्। एउटा फिल्मले मात्र यसलाई प्रमाणित गर्न नसक्ला तर त्यसलाई निरन्तरता दिइनुपर्छ। त्यस्ता मानिसहरूसम्म पुग्नैपर्छ र देखाउनै पर्छ ताकि उनीहरूलाई यस्तो फिल्म पनि हुन्छ है भन्ने थाहा होस्।

फिल्मको निःशुल्क डाउनलोडिङको बारेमा के भन्न चाहानुहुन्छ ?

मलाई लाग्छ हरेक खालका फिल्म डाउनलोड गर्न र हेर्न पाउनु ठूलो अवसर हो।

के यसले फिल्मको व्यापारलाई असर गर्दैन?

मेरो बिचारमा जो थिएटरमा जाने हुन् उनीहरू गै हाल्छन्। जो जाँदैनन् उनीहरूलाई यसको उपयोग गर्ने हुन्। हाम्रोमा धेरै कम त्यस्ता थिएटरहरू छन् र ठूला हलमा टिकट महँगो पर्छ। हरेक फिल्म मल्टिप्लेक्समा कुरेर हेर्न सम्भव पनि हुँदैन । त्यसैले फिल्म हेर्ने भोक मेटाउन टोरेन्ट राम्रो विकल्प हो ।

सेन्सरसिपको बारेमा के भन्नु छ ?

सेन्सरसिप संसारको हरेक देशमा हुन्छ। मलाई अश्लील दृश्यमाथि चल्ने कैँची भन्दा राजनैतिक रूपमा चल्ने कैँची धेरै डरलाग्दो लाग्छ। इरानी निर्देशक जफर पनाहीको ‘ट्याक्सी’ फिल्म नै हेरौँ न। त्यसले नजरबन्दमा बनाइए पनि कस्तो गज्जबले कुराहरू देखाएको छ। साँचो कलाकार द्वन्द्व र सङ्कटमा परेमा मात्र पूर्ण रूपमा फुल्छ।

तपाईंको विचारमा भविष्यका स्वतन्त्र फिल्म निर्माताहरू को हुन्?

कलकत्ताका फिल्महरूलाई विकेन्द्रीकरण गर्ने यो मुख्य समय हो। भविष्यका स्वतन्त्र फिल्म निर्माताहरू बंगालका हरेक कुना, गाउँ¸ जिल्ला¸ सहरबाट आफ्नो कथा र शैली लिएर आउनुपर्छ। त्यसपछि मात्र हामी साँचो अर्थमा नयाँ कुराहरू पाउनेछौँ। केरलामा यो भइरहेको छ बंगाल र कलकत्तालाई फिल्ममा देखाइने पहिलेको तरिका परिवर्तन हुनुपर्छ। यहाँ दृश्यमा देखाउन मिल्ने धेरै चिजहरू छन्। सँगै प्रविधि र डिजिटल युगले नयाँ बाटो बनाउँदै जानेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *