मधेसमा रस्साकस्सीः यस्तो छ ८ जिल्लाको चुनावी ‘गुरुत्वाकर्षण’

२६ भदौ, काठमाडौं । आगामी साता हुन लागिरहेको तेस्रो चरणको चुनावमा प्रमुख दलहरुको ध्यान मुख्यतः धनुषा, सप्तरी र सर्लाहीमा केन्द्रित भएको छ । यी जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरु भएकाले दलहरुको ध्यान ती जिल्लामा खिचिएको हो ।यसका साथै पर्साको वीरगञ्ज उपमहानगरपालिका, बाराका दुई उपमहानगरपालिका कलैया र जितपुर-सिमराका साथै धनुषाको जनकपुर उपमहानगरपालिकामा पनि दलहरुको ध्यान केन्दि्रत भएको छ ।

मधेस आन्दोलनको केन्द्र भागमा रहेको सप्तरीको सदरमुकाम राजबिराज नगरपालिकालाई पनि दलहरुले आफ्नो प्रतिष्ठाको केन्द्रभागमा राखेका छन् ।

कुन जिल्लाको स्थिति के ?

प्रदेश नम्बर दुईमा कुल १३६ स्थानीय तह छन् । यीमध्ये सप्तरीमा १९, सिराहामा १७, धनुषामा १८, महोत्तरीमा १५, सर्लाहीमा २०, रौतहटमा १८, बारामा १६ र पर्सामा १४ वटा स्थानीय तह छन् ।

प्रदेश नम्बर दुई अन्तरगतका ८ जिल्लामध्ये सबैभन्दा बढी सर्लाहीमा २० वटा स्थानीय तह छन् । यो जिल्लामा एमाले, कांग्रेस, माओवादी र राजपा लगायतका दलहरुको ध्यान केन्दि्रत भएको छ । एमालेले प्रदेश नम्बर दुईमा आफ्नो स्थिति बलियो देखाउनका लागि सर्लाहीलाई मुख्य आधार ठानेको छ । राजपा नेता जंगीलाल यादवले एमालेलाई सघाउने आश्वासनसँगै यहाँ एमाले उत्साही बनेको छ ।

सर्लाही राजपा नेताहरुको गृहजिल्ला हो । अघिल्लो साता यही जिल्लाका फोरम लोकतान्त्रिकका नेता रामेश्वर राय माओवादीमा प्रवशे गरेका कारण सर्लाहीमा माओवादी पनि निकै उत्साही देखिन्छ ।

सर्लाहीमा गत संविधानसभा चुनावमा ६ वटा चुनावक्षेत्र मध्ये कांग्रेसले २ स्थानमा जितेको थियो भने एमाले, माओवादी, तमलोपा र तमसपाले एक/एक सीटमा जित हात पारेका थिए ।

सर्लाहीपछि अर्को रस्साकसीको केन्द्र हो १८ स्थानीय तह रहेको धनुषा जिल्ला । एमालेले जसरी सर्लाहीबाट धेरै सीट जित्ने आश गरेको छ, नेपाली कांग्रेसले धनुषाबाट त्यस्तै आशा गरेको छ । सर्लाहीमा उत्साहित देखिएको धनुषामा भने एमालेभित्र निराशा छ । धनुषा एमाले जिल्ला कमिटी आन्तरिक अन्तरविरोधमा फसेको छ । एमालेको यही अन्तरविरोधबाट फाइदा उठाउने रणनीतिमा नेपाली कांग्रेस र राजपा लगायतका दलहरु छन् ।

गत संविधानसभा चुनावमा धनुषाका कुल ७ वटा चुनावक्षेत्र मध्ये कांग्रेसले ५ स्थानमा जित हात पारेको थियो । एमाले र सदभावनाले एक/एक स्थानमा जित हात पारेका थिए ।

धेरैवटा स्थानीय तहहरु रहेको अर्को जिल्ला हो सप्तरी । यहाँ १९ वटा स्थानीय तह छन् । मधेस आन्दोलनको केन्द्र भागमा रहेको सप्तरीमा मधेस केन्द्रित दलहरु र माओवादीको प्रभाव पनि कांग्रेस र एमालेको हाराहारीमा रहेकाले यहाँ चौतर्फी प्रतिस्पर्धा हुने देखिन्छ ।

तर, मलेठ घटना लगायतका मुद्दाहरु र विगतको प्रभावका कारणले समेत सप्तरीमा एमालेको उपस्थिति निकै कमजोर रहेको स्थानीयको अनुमान छ ।

तथापि राजमार्गसँग जोडिएको जिल्लाको उत्तरी भेगमा पर्ने सप्तकोशी, कञ्चनरुप, सुरुङ्गा, खड्ग नगरपालिका र कृष्णासावरण गाउँपालिकामा एमाले समेत प्रतिस्पर्धी रहेको स्थानीय बताउँछन् । तथापि १९ स्थानीय तह रहेको सप्तरीबाट एमालेले खासै सीट नजोड्ने स्थानीयको विश्लेषण छ ।

तर, सप्तरीमा कांग्रेसलाई माओवादी र मधेस केन्द्रित दलले रोक्न सके भने एमालेले अन्य जिल्लाबाट सप्तरीलाई भरथेग गर्न सक्छ ।
सप्तरीमा पछिल्लो संविधानसभा चुनावमा कुल ६ वटा निर्वाचन क्षेत्रमध्ये माओवादीले ३ वटामा जितेको थियो भने एमालेले एक र कांग्रेसले दुई सीट जितेको थियो ।

सिरहामा १७ वटा स्थानीय तह छन् । यो जिल्लाबाट प्राप्त हुने सीटले दलहरुको श्रेष्ठतामा अर्थ राख्ने भएकाले सिरहा पनि चुनावी जोडघटाउका लागि निकै महत्वपूर्ण जिल्ला हो ।

सिराहामा नेपाली कांग्रेसको प्रभाव राम्रो मानिन्छ । ०७० सालको संविधानसभा चुनावमा ६ सीटमध्ये कांग्रेसले ४ सीट जितेको थियो भने एमाले र माओवादीले एक/एक सीट जितेका थिए ।

चुनाव हुन गइरहेका ८ जिल्लामध्ये पर्सामा सबैभन्दा कम अर्थात् १४ वटामात्रै स्थानीय तह छन् । तर, यो जिल्लामा वीरगञ्ज महानगरपालिकासमेत रहेका कारण यो जिल्लाको चुनावी महत्व कम छैन । महानगरबाहेक अन्य १३ स्थानमा विभिन्न पाँच दलवीच प्रतिस्पर्धा छ ।

पर्सामा गत संविधानसभा चुनावमा एमालेले राम्रो नतिजा ल्याएको थियो । कुल ५ सीटमध्ये एमालेले ३ सीट जितेको थियो भने कांग्रेसले दुई सीट जितेको थियो । यो जिल्लाबाट एमालेले राम्रो नतिजा ल्यायो भने अनौठो नमान्दा हुन्छ । तथापि मधेस आन्दोलनका कारण एमालेले निकै प्रहारको सामना गर्नुपरिरहेको छ ।

रौतहट जिल्लामा पनि धनुषामा जस्तै १८ वटा स्थानीय तह छन् । यसको राजमार्ग क्षेत्रमा पर्ने चन्द्र निगाहपुरलाई समेटिएको चन्द्रपुर नगरपालिकामा एमालेभित्र अन्तरविरोध चर्किएको छ । राजमार्ग क्षेत्रमा राम्रो नतिजा ल्याउने रणनीतिमा रहेको एमालेका लागि यो निकै दुःखद स्थिति हो । यद्यपि माधव नेपालको गृहजिल्लासमेत रहेको रौतहटमा एमालेले आफ्नो पक्षमा राम्रो नतिजा ल्याउने रणनीति बनाएको छ ।

गत संविधानसभा चुनावमा रौतहटका कुल ६ सीटमध्ये एमालेले दुई सीट जितेको थियो भने कांग्रेसले एक सीटमात्रै जितेको थियो । बाँकी सीटमध्ये माओवादीले दुई सीट र लोकतान्त्रिक फोरमले एक सीट जितेका थिए । विगतको चुनावलाई हेर्दा यो जिल्लामा एमाले र माओवादी प्रतिस्पर्धी देखिन्छन् भने कांग्रेसको स्थिति केही कमजोर देखिन्छ ।

बारा जिल्लामा रहेका दुईवटा उपमहानगरपालिकामा प्रमुख दलहरुको ध्यान केन्द्रित भएको छ । यो जिल्लामा १६ वटा स्थानीय तह छन् ।

विगतको संविधानसभा चुनावमा बारामा एमाले र कांग्रेस दुबैले बराबरीे स्थान हासिल गरेका थिए । जिल्लाका कुल ६ वटा निर्वाचन क्षेत्रहरुमध्ये एमालेले ३ वटा र कांग्रेसले ३ वटा सीट जितेका थिए ।

मधेसको अर्को चर्चाको जिल्ला हो महोत्तरी । उत्तरी भेगमा पहाडे समुदायको समेत बसोबास रहेकाले यो जिल्लाबाट आफ्नो पक्षमा जित हात पर्ने एमालेले अनुमान गरेको छ भने अरुले पुरानो वर्चश्वको दाबी गरेका छन् ।

महोत्तरीमा १५ वटा स्थानीय तह छन् ।

गत संविधानसभामा महोत्तरीमा कुल ६ वटा निर्वाचन क्षेत्रमध्ये एमाले र कांग्रेसले दुई/दुई स्थानमा जित हात पारेका थिए । माओवादीले एक स्थान र स्वतन्त्रले एक स्थानमा जित हात पारेका थिए । यो तथ्यलाई आधार मान्दा महोत्तरीमा एमाले र कांग्रेसको शक्ति हाराहारी अवस्थामा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *