तीन नायिकाको प्रतिस्पर्धा

कुनै समय अभिनेताको भरमा फिल्म चल्ने जमाना थियो । अहिले पनि नेपाली फिल्म निर्माण, निर्देशनदेखि अभिनयसम्म पुरुषहरु नै हाबी छन् । त्यही भएर पनि नेपाली फिल्मको विषयवस्तुदेखि प्रस्तुतिसम्म पुरुष मनोविज्ञान हाबी भएको आरोप लाग्दै आएको छ यो क्षेत्रलाई । अभिनेत्री केकी अधिकारीले भने, ‘कोहलपुर एक्प्रेस’मार्फत अभिनेत्रीको भरमा पनि फिल्म चल्न सक्छ भन्ने देखाउन खोजेको दाबी गरेकी छन् ।

शुक्रबारदेखि मुलुकभर रिलिज हुने फिल्ममा उनीसँगै प्रियंका कार्की र ऋचा शर्माको अभिनय छ । ‘फिमेल प्रोटागोनिस्टहरुले पनि फिल्म लिड गर्न सक्छ भन्ने देखाउन खोजेका हौं’ राजधानीमा आयोजित पत्रकार भेटघाटमा केकीले भनिन् ।

त्यसो त, म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको डेब्यु फिल्म ‘कोहलपुर एक्सप्रेस’मार्फत केकी पहिलोपटक निर्माताको रुपमा समेत प्रस्तुत भएकी छन् । फिल्ममा धेरै अभिनेत्री सँगै काम गर्दा उर्जा मिलेको केकीले बताइन् । अभिनेत्री ऋचाले यसरी सँगै काम गर्दा प्राय: मानिसले व्यक्तित्वको टकराव पर्ने अड्कलबाजी गरे पनि त्यस्तो नभएको दाबी गरिन् । ‘हामी सबैको क्यारेक्टर रोचक भएर पनि त्यस्तो भएको हुनसक्छ’, उनले भनिन्, ‘सँगै काम गर्दाको माहोल रमाइलो र भिन्न हुँदोरहेछ ।’

ऋचाले इर्ष्या भन्दा पनि अरु फिल्ममा अरु कलाकारको भूमिकाबाट चाहिँ आफू निकै लोभिएको बताइन् । केकीले ‘लभ सासा’मा र प्रियंकाले ‘सुन्तली’मा गरेको चरित्र निकै मनपरेको भन्दै उनले प्रशंसा गरिन् ।
फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा लगायतको पनि अभिनय छ । निर्देशक भण्डारीले म्युजिक भिडियो बनाएपछि नै भुषण दाहालले ‘कागवेनी’निर्देशन गरेर नेपाली फिल्मलाई नयाँ बाटोतिर डोहोऱ्याउन सफल भएको दाबी गर्दै आफूले पनि राम्रो बनाउने प्रयास गरेको बताए । ‘आलोक नेम्वाङ, सिमोस सुनुवार र निकेश खड्का पनि म्युजिक भिडियोबाटै आउनु भएको थियो’, उनले भने, ‘सकेसम्म मैले पनि अब्बल काम दिने कोसिस गरेको छु ।’ केकीले चाहिँ निर्मात्री समेत बनेपछि आफूमा झन् जिम्मेवारी र परिपक्वता थपिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *