सुदन र सरोजका ‘यादहरु’ सार्वजनिक

गीतकार सुदन डोटेल तथा सङ्गीतकार सरोज प्याकुरेलको एकल सङ्गीत निर्देशनका गीतहरुको सङ्ग्रह ‘यादहरु’ काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटा, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, गायकद्वय रामकृष्ण ढकाल तथा आनन्द कार्कीसहितका व्यक्तित्वले सुगम सङ्गीतमा आधारित उक्त गीति एल्बम लोकार्पण गरेका हुन् । सार्वजनिक भएको उक्त एल्बममा विभिन्न गायक–गायिकाको स्वरका पाँच वटा गीतहरु समावेश छन् ।

लोकार्पण समारोहमा प्रमुख अतिथि सङ्गीतकार बासकोटाले गीतकार डोटेलका शब्दहरुको प्रसंसा गर्दै उनलाई साङ्गीतिक क्षेत्रमा स्वागत गरे । झण्डै डेढ दर्जन गीतहरु रेकर्ड गराइसके पनि ‘यादहरु’ गीतकार डोटेलका शब्दहरुको पहिलो एकल एल्बम हो । बासकोटाले सङ्गीतकार प्याकुरेलमा साङ्गीतिक क्षमता रहेको प्रतिक्रिया दिँदै उनको साङ्गीतिक भविष्यको कामना समेत गरे । सङ्गीतकारको रुपमा प्याकुरेलको पनि यो पहिलो एल्बम हो ।

सङ्गीतकार सुरेश अधिकारीले गायकको रुपमा करियर प्रारम्भ गर्न चाहेका सरोज प्याकुरेल आफ्नै सुझाव अनुसार सङ्गीतकार बन्न सफल भएकोमा खुशी लागेको धारणा व्यक्त गरे ।

समारोहमा सङ्गीतकार प्याकुरेल तथा गीतकार डोटेलले गीति एल्बम तयार पार्ने क्रममा भोगेका तीता–मीठा क्षणहरुको बारेमा रमाइला प्रसङ्गहरु प्रस्तुत गरेका थिए ।

विमोचित एल्बमका गीतहरुमा रामकृष्ण ढकाल, आनन्द कार्की, स्वरुपराज आचार्य, हेमन्त शर्मा तथा रीता केसीका स्वरका गीतहरु समावेश गरिएका छन् ।

समारोहमा गायक आनन्द कार्कीले सङ्ग्रहमा समावेश ‘कहिले तिमी याद…’ शीर्षकको गीत प्रत्यक्ष सुनाएका थिए ।
सङ्गीतकार सरोज प्याकुरेलकै निर्देशनमा तयार भएको ‘म भन्दा माथि मेरो देश छ…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । उक्त राष्ट्रिय गीतमा गायक रामकृष्ण ढकालको स्वर समावेश छ ।

1 thought on “सुदन र सरोजका ‘यादहरु’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *